काठमाडौँ । विश्वविद्यालय क्षेत्रको सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको “विश्वविद्यालय सुधार किन र कसरी” भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एकै छाता ऐन ल्याउनुपर्ने बताएका हुन् ।
बहसमा सहभागी हुनुभएका सांसद विद्या भट्टराईले राजनीतिक कारणले विश्वविद्यालय नबिग्रेको उल्लेख गर्दै छाता ऐन ल्याउन सके विश्वविद्यालय सुध्रने बताउनुभयो ।
‘विश्वविद्यालय नसुध्रिनुको कारण राजनीतिक हो भन्ने कुरा गलत भाष्य निर्माण गरिएको छ’ उहाँले भन्नुभयो– ‘विश्वविद्यालय सुर्धान सोच बदल्नुपर्दछ । समग्र छाता ऐन ल्याएर विश्वविद्यालय सुधार गर्न सकिन्छ ।’
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न सके सुधार गर्न सकिने धारणा राख्नुभयो । उहाँले सरकारले अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनभयो ।
शिक्षाविद् डा अनिमा सिंहले विश्वविद्यालयलाई जीवनोपयोगी शिक्षाको थलो बनाउनुपर्ने बताउनुभयो ।