काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओली प्रतिनिधि सभा विघटनतर्फ उद्यत रहेको नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले दाबी गरेका छन् ।
उनका अनुसार २०७७ सालमा पटक पटक गरेको संसद् विघटलाई सही सावित गर्न उनले यस्तो वातावरण तयार पार्ने प्रयास गरेको उनको दाबी छ ।
२०८१ जेठ ३ गते बिहीबार पार्टीनिकट बुद्धिजीवीहरूको सङ्गठन प्रजातान्क्रिक विचार समाजको कार्यत्रममा मन्तव्य राख्दै उनले यस्तो दाबी गरेका हुन् ।
डा. कोइरालाका अनुसार ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ (३), धारा ७६ (५) हुँदै प्रतिनिधि सभा विघटनसम्म पुर्याउन खोजेका छन् ।
‘एमाले ७६ (३) धारा उपधारामा जान खोजिरहेको छ’ उहाँले भन्नुभयो– ‘प्रचण्डजीलाई थाहा छ कि छैन म भन्न सक्दिनँ तर ७६ (३) मा गइसकेपछि (ओली) कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न ।’
उनले संविधानको मन्त्रिपरिषद् (सरकार) गठनसम्बन्धी धाराको स्मरण गर्दै भने– ‘संविधानको धारा ७६ (३) मा प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ तर उनले विश्वासको मत लिन नसकेमा धारा ७६ (५) अनुसार सरकार गठन हुन्छ, जसमा प्रतिनिधि सभामा विश्वासको मत लिन सक्ने कुनै संसद सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ ।’
डा. कोइरालाको निष्कर्ष थियो– ‘धारा ७६ (३) पछि ५ मा जान्छ । उहाँले संसद् विघटन गरिकन दुईअढाइ वर्षपहिले संसद् विघटन गरेको पुष्टि गर्न उहाँ उद्यत हुनुहुन्छ । यसमा कुनै शङ्का गरिरहनुपर्दैन ।’
मन्तव्यको क्रममा उनले अब नेपाली काङ्ग्रेसले यसलाई रोक्न लाग्नुपर्ने बताए ।