रवि पौडेल ##
Advertisement
धर्तीको न्यानो कपास
चन्द्रमाको जस्तो मुहार
सूर्यको जस्तो किरण
बयान गरेर साध्य छैन
नाम हो–
धर्तीकी रानी आमा
भोक, निद्रा र थकान नभनी
सधैँ अर्कैका लागि
दुःखकष्ट र वेदनाका पोका
मनको एउटा कुनामा राख्ने
नाम हो–
स्नेहकी रानी आमा
लोरी सुनाउँदै
नयनमा नयन जुधाउँदै
पिँढीमा कोक्रो हल्लाउँदै
सुमधुर कोइलीको स्वरमा
भोक प्यास मेटाउँदै
सन्तोष छर्ने
नाम हो–
मुटुको धड्कन आमा
तसलीमा भात सकिँदा पनि
कराइमा तरकारी रित्तिँदा पनि
खान्छस् बाबु ?
खान्छ्यौ छोरी ?
खानुहुन्छ हजुर ?
भनेर थपिदिने ममताकी खानीको
नाम हो–
दयाकी खानी आमा
पसिनाले चोली भिजे झैँ
आँसुले छाती भिज्दा पनि
सहन सक्ने
नाम हो–
वीर नारी आमा
झुक्दै नझुक्ने, हार्दै नहार्ने
हारेर पनि जित्ने
संसार देखाउने
संसार चिनाउने
संसार थाम्ने
र संसार बदल्ने तागत दिने
नाम हो–
आमा, आमा, आमा ।