काठमाडौं । सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेविरुद्ध पोस्ट गर्दा एक युवकलाई प्रहरीले चर्को यातना दिएको छ ।
हाल वीर अस्पतालमा भर्ना भएका जाजरकोटको साविक टालेगाउँ गाविस वडा नम्बर ७ स्थायी ठेगाना भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २७ वर्षीय गणेशमान सिंहले एक भिडिओ सन्देशमा आफूमाथि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले टर्चर दिएको बताएका हुन् ।
अस्पतालको शय्याबाट नाकमा पाइप लगाएका उनले बोलिरहेको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
जसमा सिंहले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई फेसबुकमा ‘सहकारी ठग’ भनेर कमेन्ट गर्दा आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले विष खाने अवस्थामा पुर्याएको दाबी गरेका छन्।
नेपाल प्रहरीको साईबर ब्यूरोको ध्यानाकर्षण होस। के यो घटना सामान्य हो ? pic.twitter.com/ogovwcBak2
— Kiran Paudel (@kiran24333) April 24, 2024
भिडिओमा उनी भन्छन्, ‘मैले गृहमन्त्रीको बारेमा फेसबुक पेजमा सहकारी ठग भनेर कमेन्ट गरेको थिएँ, २र३ महिनाअगाडि। अस्ति साइबर ब्युरोले मलाई बोलायो। अनि अनेक प्रश्न सोध्यो। हिजो बिदा भयो, अनि आज मह लिएर आइज भन्यो। मह लिन गको, मलाई अनेकौँ प्रश्न सोध्यो, तँलाई जेल हाल्छु ६/७ वर्ष। गृहमन्त्रीविरुद्ध बोल्ने। सहकारी ठगेको तँसँग के प्रमाण छ ? तँलाई हामी जेल हाल्छौँ, सम्माननीय गृहमन्त्रीलाई चिन्छस् भन्यो। साइबर ब्युरोले मलाई हजारौँ प्रश्न सोध्यो। अनि साइबर ब्युरोको ढोकामै औषधि खान बाध्य भएँ।’
तर साइबर ब्युरोले उक्त भिडिओ भ्रमपूर्ण भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ।
ब्युरोका तर्फबाट प्रहरी उपरीक्षक (एसपी) भाग्येन्द्र पुरुष ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वीर अस्पतालको आकस्मिक कक्ष पठाइएकामा अस्पतालको बेडबाटै आम नागरिकमा भ्रम सिर्जना गर्ने र आफ्नो आपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्याउने निकृष्ट उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकबाट पोस्ट भई प्रचार भएको भ्रमपूर्ण भिडिओ सन्देशमा कुनै सत्यता नरहेको बेहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचारप्रसार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने ब्यहोरासमेत अनुरोध गरिएको छ।’
ब्युरोको विज्ञप्तिअनुसार ऋषि राज झा नामको फेसबुकबाट अश्लील सामग्री पोस्ट गरी हैरानी दिएको भनी सिंहविरुद्ध उजुरी परेको थियो।
ब्युरोले आफ्नो विज्ञप्तिमा सिंहले कसलाई कस्तो अश्लील सामग्री पठाएको भनी उल्लेख गरेको भने छैन।
