गाजासिटी (इजरायल) । मध्यगाजाको अलमघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ ।
आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अलअक्सा सहिद अस्पताल अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको हो ।
प्रत्यक्षर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि धेरै मृत मानिसहरू भुइँमा लडिरहेको देखाएका थिए । यसैगरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र शवको व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् ।
सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउँदै आक्रमणपछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका बताउनुभयो ।
अलअक्सा सहिद अस्पतालबाट सिएनएनबाट खिचिएको फुटेजमा आकस्मिक कक्ष हताहत र घाइते व्यक्तिहरूले भरिएको देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए । अस्पतालको भिडियोमा परिवारले आफ्ना प्रियजन पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ ।
‘कसैसँग कुनै सम्बन्ध छैन । उनीहरू नागरिक हुन् कृपा गर । तिमीहरूले बच्चालाई मार्दै छौ । सेना वा लडाकुलाई नभई सडकमा शान्तिपूर्वक खेलिरहेका बालबालिकालाई मार्दै छौ’ अर्का प्रत्यक्षदर्शीले भन्नुभयो ।
अस्पतालबाहिर मानिसहरू प्रियजन गुमाएको पीडा सहन नसकी कराउँदै दःुखका साथ दर्जनौँ मानिसले मृतकलाई गाड्नुअघि आँगनमा प्रार्थना गरेका थिए । इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजारभन्दा बढी महिला मारिएको मङ्गलबार प्रकाशित युएन वुमनको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा युद्धको छ महिनामा गाजामा दश हजार प्यालेस्टिनी महिला मारिएकामध्ये अनुमानित छ हजार आमा मारिदा १९ हजार बालबालिका अनाथ भएको सिएनएनले जनाएको छ ।
प्रतिवेदनका अनुसार द्वन्द्वका कारण गाजापट्टीमा दश लाखभन्दा बढी प्यालेस्टिनी महिला तथा बालबालिका खाना, पिउने पानी नभएका कारण ‘विनाशकारी भोकमरी’ को सामना गरिरहेका छन्, जसले उनीहरूको जीवनलाई थप जोखिममा पार्ने खतरा सिर्जना गरेको छ । उनीहरूले शौचालयको पहुँचसमेत पाएका छैनन् । गाँजामा पछिल्लो समयमा प्रत्येक दश मिनेटमा एक बच्चा घाइते वा मृत्यु हुन्छ ।
यसैबिच, इजरायली रक्षाबलले गाजामा नागरिकको क्षति कम गर्ने प्रयास गरिरहेको बताएको छ । (रासस/एएनआई)