गाजापट्टी । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोरा मारिएका छन् ।
Advertisement
हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताएका हुन् ।
इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको सेनाको भनाइ छ ।
हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका तीन नातिनातिनाको पनि मृत्यु भएको छ ।
अलजजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा हनिएले आफ्ना सन्तानको हत्या भए पनि हमासले इजरायलप्रति नरम नीति अख्तियार नगर्ने र आफूहरू नझुक्ने बताउनुभयो । हाल अन्तर्राष्ट्रिय पहलमा इजरायल र हमासबिच युद्धबिराम गर्नेगरी वार्ता भइरहेका छन् । (रासस/एपी)