खिमराज चालीसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ महिला नगर सदस्य रुपा केसीको आज (२७ मार्च २०२४) अन्त्येष्टि गरिएको छ ।
कार दुर्घटनामा निधन भएकी नेत्री केसीको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम संस्कार गरिएको हो ।
रुपा केसी (क. चिनु) सन् २००१ देखि पार्टी समर्थकको रुपमा रहनुभएको र २०१५ देखि नेकपा (मसाल) को पार्टी सदस्य रहनुभएको मसालले जनाएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले नेत्री केसीको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झन्डा ओढाउनुभएको थियो ।
दुई छोराहरूले दागवत्ती दिएपछि उहाँप्रति दुई मिनट मौन धारणा गरी श्रद्धान्जली अर्पण गरिएको थियो।
त्यसक्रममा संक्षिप्त शोक मन्तव्य व्यक्त गर्दै अध्यक्ष खनालले रुपा केसीको निधनले संगठनमा अपूरणीय क्षति भएको बताउनु भयो। उहाँले मृतक केसीप्रति भावपूर्ण श्रद्धान्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको थियो।
त्यसपछि नेकपा (मसाल) सुदूरपश्चिमोत्तर जिल्ला समितिका सेक्रेटरी का. भीमले प्रेशित गरेको शोक सन्देश कार्यक्रमका सञ्चालक खिमराज चालिसेले पढेर सुनाउनु भएको थियो।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ अर्वेनी निवासी दिवंगत रुपा केसी मूल प्रवाह चंडिगढ नगर अध्यक्ष मान बहादुर केसीकी पत्नी हुनुहुन्थ्यो ।
