काठमाडौं । होली खेल्ने क्रममा भएको विवादले झडपको रुप लिएपछि ललितपुरमा दुईजनाको ज्यान गएको छ ।
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा करिब २८ वर्षाीय रोवश राई र करिब २९ वर्षीय पुजन राईको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।
आइतबार राति अन्दाजी ११ बजे ढालाहिटीस्थित सडकमा युवाहरुबीच ग्याङ फाइट भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको थियो ।
पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे। सुनसरीको धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेको प्रहरीले जनाएको छ।
मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन्।
आइतबार होली खेल्ने क्रममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा युवाहरुबीच झडप परेको थियो । त्यसक्रममा प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ ।
सबैभन्दा बढी काठमाडौंमा ७० जना पक्राउ परेका हुन्।ललितपुरमा ४ जना र भक्तपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विभिन्न गैरकानुनी गतिविधि गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
होली खेल्ने क्रममा झगडा गर्ने, ट्राफिक नियम पालना नगर्ने र अन्य गैरकानुनी गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।