काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) को छैठौं पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ।
पार्टी विधि, पद्धति र अनुशासन विपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएकोमा पदमुक्त गर्ने निणय गरेको नेसपाले जनाएको छ ।
बैठकले यसभन्दा अघि गठित पार्टी एकता/ध्रुविकरण संयोजन समिति समेत भंग गरेको छ ।
त्यसैगरी प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय,
पार्टी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण, प्रदेश र स्थानीय समितिहरू अधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको नेसपाले जनाएको छ।
बैठकले राष्ट्रिय महाधिवेशन आयोजक समितिको संयोजकमा डा।बाबुराम भट्टराई सर्वसम्मत चयन गरेको छ।
२०८१ असोज महिनामा पार्टीको विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ।
प्रवक्ता कृष्ण प्रसाद शर्माका अनुसार २०८१ कार्तिकदेखि पुससम्म स्थानीय तह र प्रदेशहरूको अधिवेसन सम्पन्न हुनेछन्।