काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गरेको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रमपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्रीको लामिछानेलाई अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरुको चित्त नबुझेको बताए । उनले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न पर्याप्त प्रमाण भएको जिकिर गरे । उनले छानबिन गर्नुपर्ने र गर्नु नपर्ने तथ्यहरु बाझिएको भन्दै यसको छिनोफानो गर्नका लागि छानबिन समिति गठन गर्नु आवश्यक भएको बताए ।
‘प्रधानमन्त्रीको कुरामा हाम्रो चित्त बुझेन । चित्तबुझ्दो ठाउँपनि पटक्कै भएन । बरु मलाई थप चिन्ता जाग्यो । प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइँदै छ । गलत सूचना प्राप्त हुँदैछ । प्रधानमन्त्री नै अध्याँरोमा हुनुहुन्छ भने अब यो कुराको निष्पक्ष छानबिन होला रु’ उनले भने, ‘सदनभित्र छानबिन समिति गठन गरौँ । प्रमाण छ कि छैन त्यो पनि हेरौँ ।’
उनले निष्पक्ष छानविन गर्नका लागि पनि संसदीय छानविन समिति आवश्यक रहेको बताए । उनले सरकारले कांग्रेसको मागलाई गम्भिरतापूर्वक नलिएमा सरकार आफैँले संसद अवरोध गरेको मानिने चेतावनी दिए ।