काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दिएका छन्।
सोमबार सत्तागठबन्धनबाट दाहाल र कांग्रेसको तर्फबाट शर्माले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।
त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्द प्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखर कुमार सिंह छन्।
दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ।
दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। उनी २०७८ सालमा मन्त्रिपरिषदबाट मनोनित हुने कोटाबाट राष्ट्रिय सभाका सांसद भएका थिए।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भोलि फागुन २९ गते हुँदै छ।