काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्तागठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेसहितको नयाँ सत्ता गठबन्धनको बैठक बसेको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसहितका दलसँग नयाँ गठबन्धन अघि बढाएका छन् । प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्। त्यसको लागि गठबन्धनको बैठक बसिरहेको स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेता सहभागी छन्।
नेपाली कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँगको नयाँ गठबन्धनसहित प्रधानमन्त्रीले सानो आकारको मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। स्रोतका अनुसार सोमबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ। त्यसपछि बाँकी मन्त्री दलहरूबीच भागबन्डाका आधारमा हुने स्रोतले बताएको छ।
जस अनुसार एमालेले पदम गिरीलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्दैछन्। यद्यपि अहिलेसम्म मन्त्रालय टुंगो लागिसकेको छैन।