काठमाडौं । संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोहन सी एक्वाइलिनो नेपाल आएका छन् । आइतबार उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेटघाट गरे ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा एडमिरललाई स्वागत गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सौहार्दपूर्ण रहँदै आएको उल्लेख गरे। नेपालको विकास निर्माण लगायतका क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगको स्तर वृद्धि हुने विश्वास व्यक्त गरे।
विश्व शान्तिको लागि नेपालले संयुक्त राष्ट्र संघीय मिसनहरूमा शान्ति सैनिक खटाउने लगायत महत्त्वपूर्ण योगदान गर्दै आएको र भविष्यमा समेत अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संयुक्त राष्ट्र संघको शान्ति मिसनहरूमा थप नेतृत्वदायी भूमिका प्राप्त गर्नको लागि नेपालले अमेरिकी सरकारको तर्फबाट सहयोगको अपेक्षा राखेको बताए।
साथै, उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालको भौतिक स्तरोन्नतिमा अमेरिकी सरकारको तर्फबाट भएको सहयोग महत्त्वपूर्ण रहेको बताउँदै उक्त केन्द्रबाट संयुक्त राष्ट्र संघीय शान्ति मिसनको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न ठूलो सहयोग पुग्ने बताए।
भेटवार्ताको क्रममा संयुक्त राज्य अमेरिका इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरलले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर रूपमा रहने र भविष्यमा थप मजबुत हुने विश्वास व्यक्त गरे।
उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नति एवं ग्लोबल पिस अपरेसन इनिसिएटिभ (जीपीओआई) लगायतका कार्यक्रमहरूमा निरन्तर समन्वय र सहकार्यमा अमेरिकी सरकार सकारात्मक रहेको कुरा व्यक्त गरे।
साथै, उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै महिला शान्ति सैनिक खटाउने विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष उदाहरण प्रस्तुत गरेको विचार समेत व्यक्त गरे।
नेपालले विश्वमा शान्ति कायम गर्न गरेको योगदानको कदरस्वरूप संयुक्त राष्ट्र संघीय मिसनहरूका नेतृत्व तहमा नेपालको प्रतिनिधित्वका लागि अमेरिकी सरकारको तर्फबाट सदैव सहयोग र सद्भाव रहने विचार व्यक्त गरे।
भेटवार्ताका क्रममा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले नेपाल र अमेरिका लामो समयदेखि असल मित्रका रुपमा रहेका र द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गरे।