दाङ । दाङमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) जिल्ला समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्य तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको विशिष्ट आतिथ्यमा २०८० फागुन १२ गते देउखुरीको लमहीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि रेग्मीले उद्घाटन गर्नुभएको सो कार्यक्रममा अप्फाका महासचिव तुलसीराम सापकोटा, अप्फाकै केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल युवक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष काशिनाथ पोखरेल, राजमो दाङका सचिव वशन्त पौडेल, अखिल नेपाल शिक्षक सङ्घका रुमालप्रसाद बसेल, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बुद्धबहादुर जिसी, राप्ती गाउँपालिका वडा नम्बर २ का जनप्रतिनिधि मनबहादुर पुन, गढवा गाउँकार्यपालिका सदस्य सूर्यबहादुर नेपाली, गढवा–४ का जनप्रतिनिधि तुकमान स्वारको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रेग्मी, विशिष्ट अतिथि नेपाली र महासचिव तुलसीराम सापकोटाले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको क्रममा उहाँहरूले किसानका समस्या, किसान वर्गसङ्घर्ष सञ्चालन, किसान सङ्गठन, सङ्घर्ष र कृषि उत्पादन, कृषिको सहकारीकरण, लेनिनवादी सङ्गठनात्मक पद्धति, देशको तात्कालिक राजनीतिक परिस्थिति, भूमि आयोग र किसान आन्दोलन जस्ता विषय उठान गर्नुभएको थियो ।
अप्फाका जिल्ला सचिव मनिराम खनालको सञ्चालन तथा अप्फाकै जिल्ला अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम अघि बढेको थियो ।
