आरसी भट्ट ##
लेनिन सर्वहारा वर्गका महान्, सच्चा र वास्तविक कम्युनिस्ट नेता थिए । उनको उच्च नैतिकता र आचरण श्रमिक जनताअनुकूलको थियो । लेनिनलाई षड्यन्त्रमाथि कुनै विश्वास थिएन । राजनीतिक, कूटनीतिक गुणले सम्पन्न भएका लेनिनले प्रतिबवद्धता दर्साएपछि त्यसलाई पूरा गर्ने गर्दथे ।
लेनिन क्रान्तिका महान सारथी भएकाले उनले रणनीति र कार्यनीतिको विषयमा गम्भीर चिन्तन गरेका छन् । रणनीतिलाई उनले निश्चित गरेर कार्यनीतिको ठेगान गरेका छन् । यी सबै कुरा उनले आफ्नो सैद्धान्तिक तथा राजनीतिक मूल्य र आचरणको सीमाभित्र बसेर गरेका थिए । उनको सैद्धान्तिक तथा राजनीतिक मूल्य र आचरण सर्वहारावादी थियो । त्यसैले सर्वहारा वर्गलाई फाइदा हुने प्र्रकारले उनले आफ्नो राजनीतिक व्यवहार प्रदर्शन गरेका थिए तर त्यसो गर्दा पनि उनले दुस्मनका विरुद्ध षड्यन्त्रको तरिका अपनाएनन् ।
उनले दुस्मनको वर्गीय र राजनीतिक चरित्रको विश्लेषण गरेर त्यसका विरुद्धका ठोस कार्यक्रम प्रस्तुत गरेका थिए ।
षड्यन्त्र र आतङ्कवादी गतिविधिलाई उनले अस्वीकार गरेका थिए । आफ्नै दाजु अलेक्जेन्डर, जसलाई जारको हत्याको अभियोगमा फासी दिइएको थियो, लेनिन आफ्ना दाजुको फासीबाट दुखित भएको भए पनि दाजुले लिएको बाटोमा हिँड्न अस्वीकार गरे किनभने लेनिनलाई षड्यन्त्र र आतङ्ककारी गतिविधि र तरिकासित कुनै पनि विश्वास थिएन । त्यसैले उनले दाजुको फासीबाट नकारात्मक शिक्षा लिएर दुस्मन पक्षमाथि विजय प्राप्त गर्न सकिने वास्तविक मार्गतर्फ अग्रसर भए ।
लेनिनको क्रान्तिकारी नैतिकताले उनलाई दाजुभन्दा भिन्न अवस्थामा उभ्याइदियो । दुस्मनलाई षड्यन्त्रद्वारा होइन, रणनीतिद्वारा पराजित वा समाप्त गर्न सकिन्छ भन्ने लेनिनलाई पूरा विश्वास रहेको थियो । त्यसैले लेनिनले जनतासितको सम्बन्धलाई प्राथमिकतामा राखे । सर्वहारा वर्गलाई विजयी गराउन, दुस्मनशक्तिको सामना गर्न योग्य बनाउन त्यो वर्गको सुदृढ राजनीतिक सङ्गठन चाहिन्छ र त्यसले सर्वहारा वर्गको क्रान्तिमा नेतृत्व दिनुपर्छ भन्ने निष्कर्ष दिएर लेनिनले सङ्गठनात्मक, राजनीतिक, सैद्धान्तिक र दार्शनिक क्षेत्रमा धेरै ठुलो योगदान दिए ।
सन् १९०५ को क्रान्तिमा पराजित भएका कारणले लेनिनले सर्वहारा वर्गलाई हतोत्सायी हुन दिएनन् । उनले सर्वहारा वर्गलाई थप सचेत र प्रशिक्षित बनाउनेतर्फ नै ध्यान दिएका थिए । उनी उच्च नैतिक बल भएका र निष्कलङ्क छवि भएका व्यक्तित्व भएका कारणले सर्वहारा वर्गको मुक्तिको प्रश्नबाहेक उनलाई अरू कुनै लोभ थिएन । त्यसकारण उनले सर्वहारा वर्गलाई मुक्तिको बाटोबाट विचलित हुन नदिन हर पल प्रयत्न गरिरहे । राजनीतिक कार्यदिशामा हेरफेर गरे । क्रान्तिको परिस्थिति निर्माण भएको बेलामा काम गर्ने तरिका र कार्यदिशाको पक्षलाई निश्चित गर्दै सर्वहारा वर्गलाई सङ्घर्षरत गराए ।
लेनिनले कम्युनिस्ट पार्टीका सदस्यलाई नैतिकवान्, जिम्मेवार र कामकाजी बनाउनुपर्नेमा जोड दिएका थिए । कम्युनिस्ट पार्टीका सदस्यले जनताका बिचमा स्वच्छ छविका साथ काम गर्नुपर्दछ । उनले प्रतिपादन गरेको सङ्गठनात्मक सिद्धान्तले कम्युनिस्ट पार्टीलाई मात्र होइन, त्यसका सदस्यलाई पनि अनुशासित र दायित्वबोध गर्नका लागि योग्य बनाउने गर्दछ ।
आजको युग लेनिनवादी युग हो । साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नका लागि सर्वहारा वर्गले धारण गर्ने हतियार भनेको लेनिनवाद नै हो तर सर्वहारा वर्ग उक्त हतियार धारण गर्न योग्य हुनुपर्दछ ।
साम्राज्यवादी संस्कृतिको प्रभावबाट मुक्त नभएमा सर्वहारा वर्गीय नैतिकता र आचरण निर्माण गर्न कठिन हुन्छ । त्यो अवस्थामा सर्वहारा वर्गले लेनिनवादको मार्गमा आफूलाई हिँडाउन सक्दैन । त्यसरी क्रान्तिको काम धेरै पछाडि पर्न जान्छ ।
विश्वको राजनीतिमा र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि नैतिकताको धेरै नै खडेरी परेको पाइन्छ । कतिपय अवस्थामा कम्युनिस्ट र बुर्जुवाले पनि उच्च नैतिकता प्रदर्शन गरेका हुन्छन् तर कैयौँको पतन हुने गरेको पनि छ । कतिपयले पुरानो सत्तासँग साँठगाँठ गरेर आफ्नो फाइदाका लागि सौदाबाजी गर्दछन् र आफूले अपनाइरहेको सिद्धान्त, राजनीति र आदर्शलाई परित्याग गर्दछन् । कतिपयको नराम्रोसँग पलायन हुन्छ र पदप्रतिष्ठाको खोजीमा लाग्दछन् । कतिपयले भौतिक सुखसुविधाका लागि आफूलाई पतन गराउँछन् भने कतिपय कठिन परिस्थितिको सामना गर्न नसकेर पलायन हुन्छन् र दुस्मन पक्षसँग मिल्न पुग्दछन् तर यसको विपरीत लेनिनले क्रान्तिकारी नैतिकता प्रदर्शन गरेका छन् । उनले प्रतिकूल परिस्थितिमा पनि माक्र्सवादको रक्षा गर्नुका साथै त्यसलाई कार्यान्वयनमा लैजानका लागि धेरै मिहिनेत गरेका थिए । उनलाई कालापानीको सजाय गरिएको थियो तर पनि उनी विचलित भएनन् र लगातार सर्वहारा वर्गलाई सङ्गठित गर्ने काममा लागिरहे । जस्तोसुुकै प्रतिकूल परिस्थितिमा पनि क्रान्तिमा दृढतापूर्वक लागिरहनु उनको उच्च नैतिकता र आचरण हो । अवसरवाद उनको नजिकमा पनि आउन सकेन । उनले अवसरवाद र संशोधनवादको धज्जी उडाएर क्रान्तिकारी सिद्धान्तको रक्षा गरेका थिए ।
लेनिनवाद सर्वहारा वर्गको उद्देश्यको राजनीतिक र सैद्धान्तिक मार्गदर्शक सिद्धान्त मात्र होइन, त्यो जीवनसंस्कार र सामाजिक सांस्कृतिक पक्षलाई मार्गदर्शन गर्ने महान् दर्शन, सिद्धान्त र विचार पनि हो । लेनिनवादले सामूहिक जीवन जिउने मार्गमा सर्वहारा वर्गको नैतिक आचरणलाई सम्बन्धन गरेको छ । उत्पादनका साधनमाथिको सामूहिक स्वामित्वको नीति सर्वहारावर्गीय आर्थिक आचरण हो । त्यसले व्यक्तिगत स्वार्थको स्थानमा सामूहिक स्वार्थबारे सोच्ने दृष्टिकोणको विकास गराउँछ । त्यसरी सामूहिक हितको नैतिक आचरण निर्माण गराउनका लागि लेनिनवादले हामीलाई मार्गदर्शन गराउँछ ।
लेनिनवाद साम्राज्यवाद विरोधी संस्कार र सांस्कृतिक पद्धति हो । सर्वहारा वर्गले मात्र साम्राज्यवादलाई परास्त गर्ने भएकाले लेनिनवादी संस्कार र सांस्कृतिक आचरणले त्यो वर्ग समृद्ध भएको हुन्छ । अवसरवाद, भड्काव, संशोधनवाद, साम्राज्यवादका विरुद्धको संस्कार लेनिनवाद भएकाले यसलाई नअपनाएर सर्वहारा वर्गले क्रान्तिको लक्ष्य प्राप्त गर्न सक्दैन । त्यसैले सर्वहारा वर्गले लेनिनवादको झन्डा उठाएर आफूलाई गौरवान्तित तुल्याउनुपर्दछ ।
(२०८० वैशाख ९ गते लेनिनजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा प्रस्तुत मन्तव्यको सारांश । सम्पादन : रामप्रकाश पुरी)