पोखरा । रुसी फौजमा कार्यरत रहँदा निधन भएका बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको कुशको शव बनाएर अन्त्यष्टि गरिएको छ ।
युक्रेन विरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उहाँका साढुभाइ सनबहादुर विकले जानकारी दिनुभयो ।
गत माघ २० गते निधन भए पनि परिवारजनलाई २०८० फागुन ९ गते बुधबार मात्र जानकारी आएको उहाँको भनाइ छ ।
पर्यटक भिसामा गत असोज ११ गते रुस पुग्नुभएका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताउनुभयो ।
‘रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो । मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ’ उहाँले भन्नुभयो– ‘थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दै छौँ ।’
मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिनुभयो ।
ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहनुभएका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताउनुभयो ।
‘रुसी सेनामा भर्ना भएको तस्बिर उहाँले नै सार्वजनिक गर्नुभएको थियो । परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ’ वडाध्यक्ष घर्तीले भन्नुभयो– ‘उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ । परिवारको बिचल्ली भएको छ ।’
विक यसअघि गाउँमै गाडीचालक रहेको उहाँका साढुभाइ सनबहादुरले बताउनुभयो । वैदेशिक रोजगारीका लागि केही वर्षअघि विक साउदी र कतारमा पनि पुग्नुभएको थियो । विकका पत्नी, दुई छोरी र एक छोरा हुनुहुन्छ । (रासस)