काठमाडौं । ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ ।
पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको हो ।
पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।
आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज शुक्रबार प्रतिवेदन पेस गरेको हो। आयोगका एक सदस्यका अनुसार घटनाको मुख्य जिम्मेवार नै मन्त्री भएको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो । त्यसमा ज्वाला र उनका पीएसओको लापरबाही देखिएको बताइएको छ । प्रदर्शन भएकै स्थलबाट ज्वालाको गाडी लापरबाही ढंगले लगिएको र सो क्रममा गाडीबाट झरेर ज्वालाले विवाद समेत गरेको बताइएको छ ।
ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ ।
घटनापछि सरकारले ललितपुरका तत्कालीन प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह र प्रजिअ रुद्रप्रसाद पण्डितलाई जिम्मेवारीबाट हटाएको थियो ।
त्यस्तै, प्रदर्शनस्थलमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय गृह मन्त्रालयले गरेको थियो ।
सो घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुखलाई पनि सरुवा गर्ने निर्णय गरेको थियो । यस्तै यता सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो भने चौतर्फी आलोचना भएपछि सरकारले पुस १६ गते जाँचबुझ आयोग बनाएको थियो ।
उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।
आयोगका अध्यक्ष पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।
ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं। गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुदहरूको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवम् प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसीटीभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसीटीभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।