तानसेन । पाल्पामा जिप दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
Advertisement
२०८० फागुन १ गते मङ्गलबार पाल्पाको तिनाउ गाउँपालिका–६ मस्याममा जिप दुर्घटना भएको हो ।
सोही वडाका वडाअध्यक्ष टोमबहादुर पुनका अनुसार डुम्रेबाट मस्याम जाँदै गरेको लु१ ज२३७१ नम्बरको जिप पौने ५ बजेतिर दुर्घटना भएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ ।
डुम्रेबाट मस्यामतर्फ जाँदै गरेको जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार जिपमा करिब दुई दर्जन यात्रु सवार रहेको प्रारम्भिक जानकारी दिइएको छ ।
वडाध्यक्ष टोमबहादुर पुनका अनुसार दुर्घटनामा घाइतेको उद्धार कार्य जारी छ । उद्धार गरिएकालाई प्रभासस्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।