काठमाडौं । राष्ट्रिय जनमोर्चाले बाँसबारी जुत्ता कारखनाको जग्गा कब्जा गर्नेहरुमाथि दृढतापूर्वक कारबाही गर्न माग गरेको छ ।
बाँसबारी, ललिता निवासन, गिरीबन्धु टी स्टेट लगायत सरकारी जग्गा अपचलनका घटनामा इमान्दारीपूर्वक छानबिन अघि बढाउन राजमोले माग गरेको हो ।
अध्यक्ष चित्रबहादुर केसीले मंगलबार (१ फागुन २०८०) एक विज्ञप्ति प्रकाशित गरी गिरिबन्धु टि–स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति स्वागत गर्नुभएको छ ।
यस्तो छ विज्ञप्ति
बाँसबारी जुत्ता कारखानाको जग्गालाई अवैध प्रकारले कब्जा गरेको भन्ने विषयमा राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । नेपालमा अहिले धेरैतिर त्यस प्रकारका सरकारी जग्गाहरूमा कब्जा गर्ने कार्यहरू भइरहेका समाचार विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । हाम्रो जोड यो कुरामा छ कि त्यस प्रकारका सबै विवादमा सरकारले निष्पक्ष र उच्च स्तरीय छानवीन गरेर इमान्दारी र दृढतापूर्वक कारवाही गर्नुपर्ने आवश्यकता छ । बाँसबारी जुत्ता कारखानाको विषयमा पनि सरकारले त्यही प्रकारको नीति अपनाउने छ भन्ने हामीले आशा गरेका छौँ ।
देशको कुनै पनि भागमा सरकारी जग्गाबारे अपनाइने त्यस प्रकारको नीतिप्रति हाम्रो पार्टीको समर्थन रहने छ र त्यही कुरा बाँसबारी जुत्ता कारखानाको जग्गाबारे हाम्रो नीति भएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । ललिता निवास सरकारी जग्गा अपचलन, गिरीबन्धु टी स्टेट जग्गा अपचलन लगायतका प्रकरण पनि देशका सामू रहेका छन् । यी सबै प्रकरणहरुमा सरकारले निष्पक्ष छानवीन गरी दोषीलाई सजायको दायरामा ल्याउन हामीले जोड दिन चाहन्छौँ । यस सिलसिलामा गिरिबन्धु टि–स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलालाई हामीले स्वागत गर्दछौँ र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नका लागि हामीले सरकारको ध्यान आकर्षित गर्दछौँ ।
२०८० फागुन ०१ गते ।
चित्रबहादुर केसी
अध्यक्ष