काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमवार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।
बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्याङ्कनको आधारमा बजेटको लक्ष्य घटाएको बताए । उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने अवस्था रहेको बताए ।
उनले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटलाई संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुनेगरी संशोधित गरिएको बताए । मन्त्री महतले मध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए।
उनले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए। वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको उल्लेख गरे।
उनले सरकारको स्रोतबाट राजश्व र आन्तरिक ऋण १३ खर्ब ९ अर्ब १३ करोड ४६ लाख र विदेशी अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख उठ्ने संशोधित अनुमान रहेको बताए ।
चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, २ खर्ब ५४ अर्ब रुपैयाँ पुँजीगततर्फ रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब खर्च हुने उनले जानकारी दिए ।