काठमाडौं । राष्ट्रिय जनमोर्चाले बाग्लुङको काठेखोला–५ बिहुँ निवासी पृथ्वीराज कँडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पुराना कार्यकर्ता कँडेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको राजमो अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ ।
सोमबार (२९माघ) एक शोक विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले कँडेल करिब ५२ वर्षदेखि कम्युनिष्ट पार्टीको सदस्य रहनुभएको र २०३६, २०४६ र २०६३ सालको आन्दोलन र सङ्घर्षमा बाग्लुङ जिल्लामा सक्रिय भूमिका खेल्नु भएको स्मरण गर्नुभएको छ ।
कँडेलको ७९ वर्षको उमेरमा यही माघ २२ गते मृत्यु भएको थियो।
यस्तो छ शोक विज्ञप्ति
बाग्लुङ जिल्ला काठेखोला–५ बिहुँ निवासी कामरेड पृथ्वीराज कँडेलको ७९ वर्षको उमेरमा २०८० माघ २२ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजन तथा बाग्लुङ जिल्लाका सम्पूर्ण पार्टी सदस्यप्रति हार्दिक समवेदना र सहानुभूति प्रकट गर्दछौँ ।
कँडेल हाम्रो पार्टीको धेरै पुरानो पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँ २०५२ सालदेखि राष्ट्रिय जनमोर्चाको सदस्य रही काम गर्दै आउनुभएको थियो । उहाँले २०३६, २०४६ र २०६३ सालका आन्दोलन र सङ्घर्षमा बाग्लुङ जिल्लामा भूमिका खेल्नु भएको थियो । उहाँले हाम्रो पार्टीको बाग्लुङ जिल्ला समितिअन्तर्गत रहेर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
उहाँको मृत्युबाट हाम्रो पार्टीले अनुशासित, प्रतिवद्ध, जुझारु, मिलनसार, निरन्तर लक्ष्यमा समर्पित भइरहने निस्वार्थी एवम् निर्भयी सदस्यलाई गुमाउनु परेको छ । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा, हामीले उहाँप्रति सम्मानपूर्वक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
पृथ्वीराज कँडेलप्रति मसालको श्रद्धाञ्जली