कञ्चनपुर । विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा कञ्चनपुरमा दुई पत्रकार पक्राउ परेका छन् ।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्ट र आभाषकुञ्ज दैनिक पत्रिकामा कार्यरत पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।
फेसबुकमा प्रहरीको चरित्र हत्या हुनेगरी लेखेको प्रहरीको आरोप छ । विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी मुद्दामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
डीएसपी प्रकाश डाँगीका अनुसार, भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय पुष्कर भट्टलाई गड्डाचौकीबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।
विद्युतीय कारोबारसम्बन्धी जाहेरीपछि प्रहरीले शुक्रबार भट्टविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
पत्रकार भट्टले केही दिनअघि सामाजिक सञ्जालमा प्रहरी जवान नरेन्द्र नाथले राजीनामा दिँदै प्रहरी निरीक्षक बिनु शाहीलाई संगीन आरोप लगाएको भिडिओ सार्वजनिक गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बेला प्रहरी निरीक्षक शाहीले चरम यातना दिएको नाथको आरोप थियो। यद्यपि प्रहरीले थुनुवा कक्षमा कसैलाई यातना नदिएको दाबी गरेको थियो।
भिडिओ सार्वजनिक भएपछि भट्टले कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापा र प्रहरी निरीक्षक शाहीविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।
यसैबीच कञ्चनपुर प्रहरीले विज्ञप्ति जारी गरेर नाथको आरोपको खण्डन गर्दै भ्रमपूर्ण समाचार र स्टाटस नलेख्न चेतावनी दिएको थियो। त्यस्तो लेखेको पाएमा प्रचलित कानुनबमोजिम सजाय हुने प्रहरीको विज्ञप्तिमा उल्लेख थियो।