काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सामाजिक न्याय स्थापित गर्न सरकारले विशेष कार्यक्रम ल्याउन माग गर्नुभएको छ ।
२०८० माघ २४ गते बुधबार राष्ट्रियसभामा मन्तव्य राख्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
‘सामाजिक न्यायलाई स्थापित गर्न सरकारले विशेष कार्यक्रम ल्याओस्’ उहाँले अगाडि भन्नुभयो– ‘आगामी पन्ध्रौँ बजेटमा यस विषयलाई समेटियोस् ।’
मन्तव्यको क्रममा उहाँले गणतान्त्रिक संविधानअनुसार सामाजिक रूपान्तरणका निम्ति ध्यान दिन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो– ‘सामाजिक न्यायको उपहास भइरहेको छ । यसप्रति सरकारको ध्यान जाओस् ।’
संसद्को नवनिर्वाचित महासचिवलाई बधाइ दिँदै सुरु गर्नुभएको मन्तव्यको क्रममा सांसद विश्वकर्माले निरङ्कुश राजतन्त्र फालेर गणतान्त्रिक संविधान ल्याएर विभिन्न जातजाति, समुदाय र सीमान्तकृत तप्काको हक, हित र अधिकार सुनिश्चित गरिएको भए पनि सो मौलिक हक कार्यान्वयनमा जान नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
‘व्यहारमा हेर्दाखेरि संविधानमा लिपिबद्ध जुन मौलिक हक छ, कार्यान्वयन नभएको हामीले पाएका छौँ’ उहाँले भन्नुभयो– ‘विशेष गरी सामाजिक न्यायको क्षेत्र अत्यन्त कमजोर छ ।’
उहाँले देशका सबैभन्दा उत्पीडित छुवाछुत व्यहोरिरहेको दलित समुदायप्रतिका विभेदका घटना दोहोरिँदै गएको प्रसङ्ग यस सन्दर्भमा जोड्नुभयो ।
सम्बोधनको क्रममा उहाँले मुगुमा दलित समुदायकी नर्सले दलित भएको थाहा भएको पाएपछि डेराबाट निकालिनुका साथै जिम्मेवारी पूरा गर्न नसकेको, काभ्रेमा भण्डारी थरको केटासँग विवाह गरेकी दलित युवतीलाई परिवारले नभित्राएको, बारामा दलित समुदायसित विवाह गरेको कारण बाबुले आफ्नै छोरीको हत्या गरेको, धादिङमा बाजा बजाउने दलितलाई पानी छोएको निहुँमा कुटपिट गरेको जस्ता घटना यस सन्दर्भमा प्रस्तुत गर्नुभयो ।