काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा धर्ना बसेका प्रदर्शनकारीहरूलाई महानगर प्रहरीले हटाएको छ। मंगलबार बिहान काठमाडौं महानगर प्रहरीले प्रदर्शनकारीहरूलाई शान्तिवाटिकाबाट हटाएको हो।
पछिल्लो समय शान्तिवाटिकामा आरती साहका परिवार, बलात्कार आरोपी न्यायाधीश भुवन गिरीकी श्रीमती, मिटरब्याजी पीडितहरूले प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरू शान्तिवाटिका बाहिरै बसिरहेका छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलमा प्रदर्शन गर्न निषेध गरेपछि उनीहरू शान्तिवाटिका गएका थिए।
नगर प्रहरीले आफूहरुलाई लछारपछार गर्दै धर्ना बसेको ठाउँबाट हटाएको खानासमेत खान नदिएको पीडितको आरोप छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले विभिन्न माग राख्ने समूहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको बताए ।
प्रशासनले माइतीघरमा प्रदर्शन गर्दा सरकारी कामकाजका लागि आउनेहरूका लागि अवरोध हुने गरेको भन्दै निषेधित क्षेत्र तोकेको हो। दुर्गा प्रसाईंको कार्यक्रमलाई लक्षित गर्दै तोकेको निषेधित क्षेत्र प्रशासनले हटाएको छैन।