काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरहराको निशुल्क पार्किङ हटाउन दबाब आएको खुलासा गरेका छन् ।
पार्किङ बन्द गर्न पत्र आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले ठेक्का हत्याउन निशुल्क पार्किङ रोक्न खोजिएको आशंका गरेका छन् ।
आज (सोमबार) बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले निःशुल्क पार्किङलाई बन्द नगर्ने बरु थप व्यवस्थित गर्दै लगिने बताएका छन्। यद्यपी कुन निकायले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठायो उनले खुलाएका छैनन्।
उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पूरा नभएको भन्दै उनले अहिले आएर पार्किङ बन्द गर्नु भनेर पत्र लेख्नुलाई निर्लज्ज कार्य भनेका छन्।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेको उल्लेख गर्दै उनले उद्घाटन गरेको २ वर्ष ९ महिनासम्म पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भनी प्रश्न गरेका छन्।
‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो। सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे’, मेयर बालेनले लेखेका छन्, ‘तर केहिदिन अगाडि त्यहीँ ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ( ‘धरहरा निर्माण हुँदैन। पार्किङ बन्द गर्नु।’ उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के होरु पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नु भएको थियो, ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’
उनले तोकिएको समयमा निर्माण नगर्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन गर्ने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन पनि माग गरेका छन्।
‘संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ। निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ,’ केपी ओलीप्रति कटाक्ष गर्दै बालेनले लेखेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुरासँग ख्याल ठट्टा नगरौँ।’
उनले पत्र पठाउँदैनमा पार्किङ बन्द हुने भन्दै महानगरको पहलमा निःशुल्क पार्किङलाई अझै व्यवस्थित गर्दै लगिने बताएका छन्।
उनले अहिले धेरैको नजरमा धरहरामा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको पनि उल्लेख गरेका छन्। ‘हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौँ,’ उनले भनेका छन्।