काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गरेका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निजी खातामा एक करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गरे । उनले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताए ।
उनले आफूलाई ग्लोबल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको बताए । सोमवार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नो विरुद्धमा समाचार लेखिएको र निजी खातामा एक करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गरे ।
उनले भने, ‘ग्यालेक्सी छोड्दा मेरो खातामा एक करोड ८० लाख आयो । मैले जम्मा गरेँ भन्ने कुरा गरेर त्यो सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजिएको देखियो । यो गलत हो । मैले यो समाचारका लागि अलिकित समय दिनुस् न, हतार नगर्नुस् न भने । ग्लोवल आइएमई बैंकले खातामा पैसा नआएको बताएको छ ।’
पत्रअनुसार रवि लामिछानेको नाममा चेक क्लियरेन्समार्फत १ करोड ८० लाख रुपैयाँ डिपोजिट गराइएको तर उक्त चेक रहेको खातामा पैसा नभएका कारण जम्मा नभएको देखिएको छ।
पत्रमा भनिएको छ, ‘बैंकमा सञ्चालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा रहेको १ करोड ८० लाखको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ‘ईसीसी’मार्फत चेक क्लियरेन्समा पठाउँदा पर्याप्त पैसा ‘इनसफिसेन्ट ब्यालेन्स’का कारण फिर्ता भएको हुँदा सो खातामा पैसा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ।’
पत्रको आशयअनुसार ग्यालेक्सी टेलिभिजनको सेयर फिर्ता गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त सेयरबापतको पैसा भुक्तानी प्रमाण देखाउनुपर्ने व्यवस्था छ।
बैंकमा जम्मा गराएको डिपोजिट रसिद देखाउनुपर्ने कारणले बाउन्स चेक जम्मा गराएर हिसाब मिलान गरेको देखिएको छ। सोही बाउन्स चेकबाट रवि लामिछानेको खातामा पैसा जम्मा गर्ने प्रक्रिया भएको तर पैसा जम्मा नभएको देखिएको हो।
सो पत्रमा उल्लेखित मिति भने गलत छ ।
