काठमाडौं । नेकपा (मसाल) ले लेनिनको मृत्यु भएको सय वर्ष पुगेको सन्दर्भमा ‘लेनिन शताब्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन गर्ने भएको छ ।
आइतबार (माघ ७ गते) काठमाडौंको हार्दिक होटलमा सो पुस्तक विमोचान गर्ने कार्यक्रम रहेको नेकपा (मसाल) केन्द्रीय कार्यालयले जनाएको छ । मसालका प्रवक्ता रामप्रकाश पुरीले पुस्तक विमोचन गर्नुहुने छ ।
साथै, लेनिनको शताब्दी स्मृति दिवस पारेर अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको मसालले जनाएको छ । दिउँसो साढे १२ बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।
यस्तै, काठमाडौं बाहिर र प्रवासमा पनि माघ ७ गते लेनिन स्मृति दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको छ ।
नेकपा (मसाल) ले पार्टीको ऐतिहासिक तीन अभियान अन्तर्गत २०८० सालभर लेनिनको शताब्दी स्मृति दिवस मनाइरहेको छ । त्यसअन्तर्गत मसालले संगठनात्मक अभियान सञ्चालन गरिरहेको छ ।
यसका साथै पार्टीले आफ्नो नर्वौं महाधिवेशनको पनि तयारी गरेको मसालले जनाएको छ ।
व्लादिमिर इल्यिच लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसमा भएको थियो ।
मार्क्स, एङ्गेल्सले प्रतिपादन गरेको क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको उनले विकास र प्रयोग गरेका थिए । लेनिनको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।
२१ जनवरी १९२४ मा लेनिनको ५३ वर्षको उमेरमा निधन भएको थियो ।