काठमाडौं । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।
राई र लामिछानेमाथि सहकारी ठगीमा हदैसम्म कारबाहीको माग गर्दै युवराज सफलले उजुरी दिएका हुन् ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रहेका लामिछानेले आफूले सहकारीमा लेनदेन गरेको भए प्रमाण देखाउन चुनौती दिइरहेका बेला सफलले लिखित प्रमाणबिना रकम हिनामिना गरेको पाइए संगठित अपराधमा मुद्दा चलाउन माग गरेका छन् ।
‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रारज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदकले भनेका छन् ।
उनलेसहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।