काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा २०८० माघ २ गतेदेखि आचारसंहिता लागु हुने भएको छ ।
Advertisement
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०८० पुस २९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी गराउनुभएको हो ।
आयोगले पुस २९ गतेको बैठकको निर्णयबमोजिम निर्वाचन आयोग ऐन–२०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार मिति पुस २ गतेदेखि माघ १२ गते आचारसंहिता लागु हुने बताएको छ ।
यस अवधिमा आचारसंहिताको दफा १, दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु हुने छ ।
के गर्न पाइँदैन ?
- सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन
- निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन
- कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन
- राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नाङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता व्यक्तिको भावनामा आँच आउने वा चरित्रहत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन - बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन
- कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन
- सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन
- निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन
- निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न
- कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न
- मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न
- कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न
- निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको
- अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न
- मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न
- मतदानको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राख्न
- कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न
- सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन
आयोगले जारी गरेको आचारसंहिताका अन्य व्यवस्था आयोगको वेबसाईट www.election.gov.np मा हेर्न आग्रह गरेको छ ।