काठमाडौँ । २०८० माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले तीन लाख ५० हजार रुपियाँ खर्च पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन–२०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली–२०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ अनुसार सो व्यवस्था गरिएको हो ।
उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले बताएको छ ।
उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।
त्यसैगरी, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन–२०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन–२०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले सचेत गराएको छ ।