काठमाडौं । सर्लाहीको बरहथवामा एक जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाका दोषी प्रहरीलाई कारबाही हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षी बैठकमा ११ बुँदे सहमति भएको हो ।
सहमति अनुसार बरहथवा नगरपालिका वडा नं. ६ का युवा जयशंकर साहमाथि गोली चलाउने प्रहरीमाथि छानबिन गरी कारबाही हुने भएको छ ।
जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलासहित घटनाका पीडित पक्षहरु, मधेश प्रदेश सरकारका अर्थमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, बरहथवा नगरपालिकाका प्रमुख, दलका प्रतिनिधि र सरोकावाला व्यक्तिहरूको उपस्थितिमा उक्त सहमति भएको हो।
मृतक साहलाई सहिद घोषणा गर्ने प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। त्यसैगरि मृतक साहका आश्रित परिवारका १ जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने भएको छ।
बैठकले मृतक साहको शवलाई तत्काल व्यवस्थापन गरी पोस्टमार्टमपछि आफन्तलाई बुझाउने निर्णय पनि गरेको छ।
यस्ता छन् सहमति
१) मिति २०८० पौष २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनका कममा बरहथवा नगरपालिका वडा नं. ६ का युवा व्यवसायी जय शंकर साहको असामयिक निधनले अत्यन्त मर्माहत एवम् शोकमग्न भएका छौ। दुःखको यस घडीमा दिवङगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै समवेदना व्यक्त गरियो।
२) गृह मन्त्रालयद्वारा गठित छानविन समितिलाई सबै पक्षले आ(आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानबिन गर्न सहयोग गर्ने।
३) पीडितको आश्रित परिवारको १ जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने।
४) प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानून बमोजिम प्रक्रिया पुरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने। अस्पताल सञ्चालन सम्बन्धमा बरहथवा नगर प्रमुख र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सहकार्य एवम् छलफलबाट टुंग्याउने।
५) अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जय शंकर साहको शालिक स्थापना गर्ने।
६) उद्योग वाणिज्य संघ बरहथवा सहित पाँच दलीय गठबन्धनले सबै विरोधका कार्यक्रमहरु स्थगित गर्ने र विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्ति पूर्वक संचालनको लागि सबै पक्षले आ(आफ्नो तह र तप्काबाट सहयोग गर्ने।
७) मृतकको संम्झनामा निजको नामबाट प्रक्रिया पुयाई प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने।
८) दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउने।
९) मृतकलाई शहिद घोषणा गर्ने प्रक्रियाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने।
१०) आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारी साधन लगायत सम्पत्तिको क्षतिको मूल्यांकन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने।
११) मृतकको पार्थिव शरीरलाई तत्काल व्यवस्थापन गरी पोस्टमार्टम पश्चात आफन्तलाई बुझाउने।