काठमाडौं । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव आफन्तले अझै उठाउन दिएका छैनन् । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।
शनिबार दिनभरी नै बरहथवामा प्रदर्शन भइरहेको छ। मृतकका आफन्त र आन्दोलनरत स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन नदिएका हुन्।
गृह मन्त्रालयले पीडित परिवारलाई १० लाख दिने निर्णय गरिसकेको छ । त्यस्तै उक्त घटनाबारे छानबिन गर्नका लागि तीन सदस्यीय समिति पनि बनाइएको छ।
गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राहतस्वरूप १० लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिएको हो।
यस्तै उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन्। समितिले घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ।
छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्रीबाट निर्देशन भएको विज्ञप्तिको उल्लेख छ।