मुसिकोट । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा अहिलेसम्म दस हजार चार सय २३ आवास निर्माण गरिएको छ ।
भूकम्प गएको दुई महिना बितिसक्दा पनि सबै भूकम्पपीडित भने अस्थायी आवासमा सर्न सकेका छैनन् । अझै पनि उनीहरू त्रिपालको सहाराले रात काटिरहेका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाका अनुसार जिल्लाभर सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा छन् ।
हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ मात्र निर्माण भएका छन् ।
त्यस्तै, आठबिसकोट नगरपालिकामा तीन हजार १४, चौरजहारी नगरपालिकामा दुई हजार दुई सय ८९, त्रिवेणी गाउँपालिकामा नौ सय ३८ र बाँफिकोट गाउँपालिकामा एक सय १७ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवाले जानकारी दिनुभयो ।
हालसम्म जिल्ला बिपत् व्यवस्थापन कोषबाट २३ हजार छ सय आठ लाभग्राहीका लागि स्थानीय बिपत् न्यूनीकरण कोषमा रु २५ हजारका दरले रु ५९ करोड दुई लाख रकम पठाइएको छ । स्थानीय बिपत् कोषबाट भने २१ हजार एक सय १५ लाभग्राहीले रु २५ हजारका दरले रु ५२ करोड ८१ लाख रकम प्राप्त गरेका छन् ।
हालसम्म जिल्लाभर २७ हजार छ सय ८२ लाभग्राहीको प्रहरीले लगत सङ्कलन गरेको छ । सङ्कलनको काम अझै जारी रहेकाले लाभग्राहीको सङ्ख्या साढे तीस हजार पुग्न्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । (रासस)