काठमाडौं । नेपालीलाई रुसी सेनामा पठाउने समूहका दुई जना पक्राउ परेका छन् । ट्राभल सञ्चालक गोरखाका ३१ वर्षीय अर्जुन सुनार र सोलुखुम्बुको नेचाका ३५ वर्षीय शेरबहादुर राईलाई पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उनीहरुले रुसमा होटलमा आकर्षक तलब हुन्छ भन्दै ६ लाख रुपैयाँका दरले लिएर रुसी सेनामा पठाएको पीडितले उजुरी गरेका छन्।
शंकर कार्की, राजन राई र बिकास राईलाई अलास्का ट्राभल्स संचालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेरबहादुर राईले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिएको उजुरी परेको छ।
६ लाख रुपैयाँका दरले लिएर रुस पठाए पनि रुस पुगेपछि शंकर कार्कीले रुसी सेनामा काम नगर्ने बताएका थिए। रुसमा पनि उनले ८०० डलर विमानस्थलमा लिन आउने व्यक्तिलाई दिएका थिए।
नेपालबाट होटलमा भनेर पठाएपनि त्यहाँ पुगेपछि उनलाई रुसी सेनामा भनिएको थियो। तर शंकरले रुसी सेनामा काम गर्न मानेनन्। रुसी सेनामा काम गर्नपर्छ भनेपछि उनी नेपाल फर्किएर रुस पठाउने व्यक्तिविरुद्ध उजुरी गरेका थिए।
उनलाई पठाउँदा सबै नक्कली कागजात ट्राभल कम्पनीले नै बनाएको पाइएको प्रहरीको भनाई छ।
मानब तस्करीको आरोपमा उनीहरुलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।
कार्कीसँगै गएका राजन राई र बिकास राई भने रुसी सेनामा भर्ना भएका छन्।