भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुन: आतङ्क मच्चाउन थालेको छ । ध्रुवेले २०८० पुस १९ गते बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिनुभयो ।
बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो ।
उहाँले भन्नुभयो– ‘अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।’
हात्तीलाई डाट गरेर रेडियोकलर जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उहाँले बताउनुभयो ।
हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।
हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोतसाधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उहाँले बताउनुभयो ।
हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ । (रासस)