भरतपुर । जलयात्रामा आश्रित मजदुर (रिभरगाइड) ले तलब बढाउन माग गरेका छन् । उनीहरूले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् ।
चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान) को पन्ध्रौँ साधारणसभाले यस्तो माग गरेको हो ।
हर्गानका उपाध्यक्ष डोलबहादुर गुरुङका अनुसार जलयात्रा मजदुरले हाल दैनिक ज्याला रु दुई हजार पाँच सय पाउँदै आएका छन् ।
साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला रु चार हजार हुनुपर्ने माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरूको भनाइ छ ।
लामो समयदेखि रिभरगाइडको काम गर्दै आउनुभएका चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरूले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरूको माग रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘पर्यटकलाई बिहानदेखि बेलुका अबेरसम्म समय दिनुपर्ने हुन्छ । दिनभर जलयात्रा (राफ्टिङ गराएर होटलसम्म पुर्याउनुपर्ने हुन्छ, सधैँ काम हँुदैन । सिजनमा मात्र हुने कमाइले दैनिक गुजारा चलाउनसमेत कठिन हुन्छ ।’
हाइड्रोपावर रोक्न माग
त्रिशूली नदीमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावर निर्माण रोक्न पनि रिभरगाइडले माग गरेका छन् । सो स्थानमा बन्ने हाइड्रो पावरले त्रिशूली नदीको जलयात्रामा आश्रित स्थानीय ७० जनाभन्दा बढीको रोजगारी गुम्ने रिभरगाइड गुरुङको भनाइ छ ।
साथै सो आयोजनाका कारण एक सय ५० भन्दा रिभरगाइडको रोजगारीमा असर पुग्ने उहाँको भनाइ छ । जलयात्राका लागि विश्वमै उत्कृष्ट मानिने त्रिशूली नदीको सौन्दर्यता बिग्रनाका साथै जलयात्रा व्यवसायी र त्यसमा आश्रित मजदुरको रोजीरोटी खोसिने हर्गानको ठहर छ ।
त्रिशूली नदी बचाउन सम्बन्धित निकायमा खबरदारी गर्नेलगायत सङ्घर्षका कार्यक्रम साधारसभाले तय गरेको छ । यसअघि पनि जलयात्रा मजदुर र व्यवसायीले विरोधस्वरूप राजमार्गमा पदयात्रा गरेका थिए । (रासस)