भक्तपुर । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन २०८४ होइन, देश बनाउने स्पष्ट भिजन–२०९४ सुरु गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली काङ्ग्रेसको जिल्ला शाखाले २०८० पुस १६ गते सोमबार आयोजना गरेको अडचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन–९४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभएको हो ।
आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९४ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
अवसरका पदमा पटक पटक दोहोरिने परम्परा अब अन्त्य गर्नुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भन्नुभयो– ‘पटक पटक एउटै पदमा एउटै व्यक्ति दोहोरिने परम्परा हटाउनैपर्छ । राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी दोहोरिन दिन हुँदैन ।’
संविधान सहमतिको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले दलबिचको सहकार्यले शान्तिप्रक्रियाका बाँकी काम पूरा गरी संविधानप्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री शर्माले ठुलो जनसङ्ख्याका कारण नेपाली विदेश जाने अवस्था रोक्न र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेकाले बैदेसिक रोजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।