काठमाडौं । देशमा रोजगारी नपाएपछि कोरियाको सपना बुनेर काठमाडौं आएका दुई युवाले शुक्रबार अनाहकमा ज्यान गुमाए । वैदेशिक रोजगारीमा गएर भएपनि परिवारको गर्जो टार्ने सपना राज्यको गोलीले भताभुङ्ग बनाइदिएको छ ।
कोरियन भाषा पढिरहेका युवाहरूले करिब एक महिना अघिदेखि ईपीएस परीक्षा दिन पाउनुपर्ने माग गर्दै राजधानीमा आन्दोलन गरिरहेका थिए । शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले नसुनेपछि शुक्रबार आन्दोलनले उग्ररुप लियो ।
युवाहरुले ग्वार्कोस्थित ईपीएस कार्यालय घेराउ गरी नाराबाजी थाले । आन्दोलनलाई दमन गर्न प्रहरीले अश्रूग्यास प्रहार गर्यो, लाठीचार्ज गर्यो । अनाहकमा कुटाई खाएपछि आक्रोशित युवाहरुको भिड नाराबाजी गर्दै बालकुमारीस्थित रिङरोडतर्फ लागे ।
त्यहीक्रममा पार्टी बैठकमा भाग लिन झण्डा हल्लाउँदै आइपुगे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । प्रहरी दमनको आक्रोश युवाहरुले मन्त्री सवार गाडीमाथि पोखे । उनीहरुले गाडी रोकेर टायरको हावा फुस्काइदिए र तोडफोड गरे । भिडले बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गर्यो ।
सरकारले सुरुमा युवाहरुको आन्दोलनलाई नजरअन्दाज गर्यो । युवाहरुको आवाज सुनेन । सुरक्षा निकायले विशिष्ट व्यक्ति (मन्त्री) को सुरक्षामा पर्याप्त ध्यान दिएन वा मन्त्रीले नै युवाहरुको आन्दोलनप्रति वेवास्ता गरे ।
आक्रोशित भिडमा झण्डा हल्लाउँदै गएका प्रकाश ज्वाला चढेको सरकार गाडी जल्यो । तर, त्यसको बदला राज्यले गोली चलायो । भिड नियन्त्रण गर्ने सामान्य उपायसमेत अपनाएको देखिएन । अरुबेला प्रयोग गर्ने पानीको फोहोरासमेत प्रयोग भएन ।
यदी प्रहरीले पानीको फोहोरा प्रयोग गरेको भए चिसोमा भिजेका व्यक्तिहरु सडकमा बसिरहने थिएनन् लाखापाखा लाग्थे । गोली नै चलाउनुपर्ने अवस्था भएपनि हवाई फायर गरेको भए क्षति हुँदैनथ्यो । अथवा घुँडामुनी गोली लागेको भएपनि अकालमा ज्यान जाने थिएन ।
प्रहरीले चलाएको गोलीले लागेर अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह त्यहीँ ढले । प्रहरीको लाठी प्रहारबाट दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावत पनि गम्भीर घाइते भए । उपचारका क्रममा पाटन र किस्ट अस्पतालमा दुवै युवाले ज्यान गुमाए ।
दुवै जना युवा सामान्य परिवारका थिए, परिवारको गर्जो टार्न कोरिया जाने सपनामा राजधानी आएका । तर, राज्यले देशभित्रै रोजगारी त दिएन नै विदेश जान्छु भन्दा समेत गोलीले उडाइदियो ।
गाउँमै कक्षा १२ उत्तीर्ण गरेका वीरेन्द्र काठमाडौं आएर कोरियन भाषा पढिरहेका थिए । उनका ५२ वर्षीय बाबु टेकबहादुर भारतमा मजदुरी गर्दै थिए । चौकिदारी गर्दै घरखर्च टार्दै र छोरालाई कोरिया पठाउने खर्च जोहो गर्दै गरेका टेकबहादुर बिरामी परे । बिरामीले थलिएका उनी साताअघि मात्रै घर फर्किएका थिए ।
यता, दैलेखका सुजन रावतको पारिवारिक अवस्था अझ नाजुक छ । उनको परिवारमा वर्षदिन नबित्दै अर्को बज्रपात परेको छ।
एक वर्षअघि मात्रै बुवा गुमाएका सुजन घरको ऋण तिर्न कोरिया जाने योजनासहित केही समय अघिमात्रै कोरियन भाषाको तयारीका लागि दैलेखबाट काठमाडौँ आएका थिए। दैलेख बजारमा भाँडा पसल सञ्चालन गर्दै आएको सुजनको परिवार बुवा भक्तबहादुर रावतलाई क्यान्सर रोगले समात्यो । भएभरको सबै सम्पत्ति क्यान्सरको उपचारमा सकियो । गएको वर्ष मंसिर १२ गते उनको मृत्यु भयो ।
उपचारको क्रममा भएभरको सम्पत्ति सकिएपछि घरको सबै जिम्मेवारी छोरा सुजनको काँधमा आयो। त्यो सबै जिम्मेवारीलाई बहन गर्न सुजनले कोरियन भाषा सिकेर कोरिया जाने निधो बनाए।
बुबाको बरखी सकेर भाषा अध्ययनका लागि काठमाडौँ आएका सुजनलाई राज्यले खोस्यो ।
परिवारको जिम्मेवारी काँधमा बोकेर विदेश जान हिँडेका दुवै युवाले जिम्मेवारी पूरा गर्न त पाएनन्, परिवारमाथि बज्रपात छोडेर बिदा भए ।