गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
प्रधानमन्त्री पुष्पकमल दाहाल २०८० माघ १ गते सोमबार अर्घाखाँची आउनुहुने भएको छ ।
नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीको आयोजनामा सञ्चालन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम–२०८० को उद्घाटन गर्न प्रधानमन्त्री दाहाल अर्घाखाँची आउन लाग्नुभएको हो ।
‘विकासका लागि महाअभियान’ नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्रीसहित मुलुकका विशिष्ट व्यक्तित्व अर्घाखाँची आउने भएपछि कार्यक्रमको तयारीलाई तवी्र पारिएको पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले जानकारी दिनुभएको छ ।
गत पुस १ गते अभियानको लोगो सार्वजनिक गरेर कार्यक्रमको औपचारिक घोषणा गरेको पत्रकार महासङ्घले पुस १२ गते बिहीबार जिल्लास्थित सरोकारवालासँग सर्वपक्षिय बैठकसमेत गरेको छ । जिल्ला समन्वय प्रमुख जीवनारायण कोइरालाको संयोजनमा बसेको बैठकले कार्यक्रम उद्घाटन समारोहस्थल टुडिखेललाई तय गरेको छ ।
छओटै पालिकाका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी कमलराज ढकालसहित सुरक्षा निकायका प्रमुख, पत्रकार तथा अन्य सरोकारवालाको विशेष उपस्थितिमा सम्पन्न बैठकले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न तीनओटा विषयगत समिति गठन गरेको छ ।
पत्रकार महासङ्घ अर्घाखाँचीका सहसचिव हृदयकुमार भुसालका अनुसार बैठकले पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली संयोजक, प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी, प्रदेशसभा सदस्यद्वय चेतनारायण आचार्य र रामजी घिमिरे रहेको चार सदस्यीय सल्लाहकार समिति, जिल्ला समन्वय प्रमख जीवनारायण कोइराला संयोजक, छओटै पालिकाका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी ढकालसहित सुरक्षा निकायका प्रमुख सदस्य रहेको निर्देशक समिति र पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष खनाल संयोजक र कार्यसमितिसहित क्रियाशील पत्रकार सदस्य रहेको मूल आयोजक समिति बनाएको छ ।
महासङ्घले जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गरी धेरैभन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो कार्यक्रम आयोजना गर्न लागेको पत्रकार महासङ्घ अर्घाखाँचीका सदस्य जितेन्द्र खत्रीले बताउनुभयो ।
“आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको पत्रकार महासङ्घले जनाएको छ ।