बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मसाल) रुपन्देहीले ले विश्व कम्युनिस्ट महान् नेता माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ ।
पुस १० गते सम्पन्न उक्त सभामा मन्तव्य राख्ने वक्ताहरूले माओका विचार र माओले प्रतिपादन गरेका सिद्वान्त समयसापेक्ष रहेको बताउनुभयो ।
नेपालमा कम्युनिस्ट पार्टीको राज्यव्यवस्था कायम गर्नुपर्ने र त्यसका लागि माओका विचारलाई आत्मसात गरेर अघि बढ्नुपर्ने उहाँहरूको तर्क थियो ।
कम्युनिस्टको नाममा गैरकम्युनिस्ट हाबी हुँदै गएकाले त्यसतर्फ सचेत भएर माओले देखाएको बाटोमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनेतर्फ उहाँहरूको जोड थियो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार नेता बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा र अखिल नेपाल टे«्ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी, राजमो नेताहरू पदम श्रेष्ठ, दिलबहादुर नेपाली, शशि पौडेल, लालबहादुर क्षेत्री, रामप्रसाद पाण्डेलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।