काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा दुई सय जना नेपाली रहेको बताएका छन् । तीमध्ये सयजना घाइते र हराइरहेको उनको भनाई छ ।
‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको छ ।
त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो’ मन्त्री साउदले रासससँग कुरा गर्दै भने, ‘किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो सङ्ख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ ।’
हराएका र घाइते भएका नेपालीबारे उनीहरुका परिवार र साथीभाइले खबर गरेका मन्त्री साउदले बताए।
‘रुसी सेनामा नेपाली युवा भर्ना भएका र हाल केहीको मृत्यु भएको तथा केही युक्रेनमा बन्दी बनाइएको भन्ने कुरा आएको छ, यसमा सरकारले उद्धारका लागि के पहल गरिरहेको छ’ भन्ने प्रश्नमा उनले नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरु रुसी सरकारसम्म पुर्याउनका लागि स्पष्ट सन्देश दिएको बताए।
उनले भने, ‘मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ। यसमा हामी प्रयत्न गरिरहेका छौँ।’
रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’९एनओसी०को प्रबन्ध गरेको उनले बताए। दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको पनि उनले जानकारी दिए।
यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएको उनको भनाई छ।
यससँगै युक्रेनमा बन्दी बनाइकाका हकमा आफूहरु युक्रेन सरकारको सम्पर्कमा रहेको र युक्रेन हेर्ने नेपाली राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहेको उनले बताए।
अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरिएको र यसको परिणाम चाँडै आउँला भन्ने विश्वास लिएको उनले बताए।
परराष्ट्रमन्त्री साउदले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको दाबी पनि गरेका छन्।
इजरायलमा हमासद्वारा भएको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ।
‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु’ मन्त्री साउदले भने, ‘अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ। आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ।’