हेमराज आश्रम एक प्रगतिवादी गायक हुन् । उनको परिचय यत्तिमा मात्र सीमित गर्न मिल्दैन, उनी एक सङ्गीतकार, सङ्गीत प्रशिक्षक, सङ्गीतका विद्यार्थी र निर्देशक पनि हुन । सङ्गीत नै उनको बाँच्ने पेशा हो ।
आफ्नो पेशामा कतै गाली त कतै ताली आउनु नौलो कुरो होइन । आम कलाकार सधैँ तालीका भोका हुन्छन् तर हेमराज आलोचनालाई पनि उत्तिकै मनन् गर्छन् ।
यतिबेला उनको ब्यानरमा एउटा गीत आएको छ । ‘बाबा म त पढ्दिनँ बोर्डिङ’ बोलको गीत इज्जत राख्न बोर्डिङ स्कुलमा पढाउनेजस्तो ढोँगी संस्कृति विरुद्ध रचना गरिएको छ । यो गीत समय सान्दर्भिक नै छ ।
यसमा अहिले केही आलोचना पनि आएका छन् । ती आलोचना पूर्वाग्रहको हो । किनकि हेम पूरै सिस्टमको विरुद्धमा गीत गाउने कलाकार हो । उसलाई जतिबेला पनि जेलनेल वा राज्यले जे पनि गर्न सक्छ । तसर्थ यो गीत बोर्डिङ स्कुलको विरुद्धमा लेखिएको गीत मात्र होइन ।
बोर्डिङ स्कुलमा बच्चाको भविष्य हेरेर भर्ना गरिएका र समाजमा प्रतिष्ठा राख्न भर्ना गरिएका बच्चा बिचमा केही फरक उहाँहरूजस्ता स्कुलका सञ्चालकले पनि पाउनुपर्ने हो । बोर्डिङ स्कुलको शिक्षण सिकाइमा पनि यो संस्कारले असर गरेको छ । बच्चा आफूले पनि मिहिनेत गरे पढाइ राम्रो हुन्छ । त्यसमा असल शिक्षकको निगरानीमा बालबालिकाको पढाइ हुनु राम्रो हो ।
तर ‘यति धेरै फी तिरेर पनि मेरो बच्चाको पढाइ किन राम्रो भएन ?’ भन्ने प्रश्न गर्ने अभिभावक पनि नभएका होइनन् । स्कुलले वा फिसले पढिदिने होइन, स्कुलले पढाउने हो । असल शिक्षकको बन्दोबस्त र उनीहरूले पढाए/नपढाएको हेर्न हो । बच्चाको भविष्यलाई हेरेर युग अनुरूप शिक्षकको क्षमता वृद्धि गर्दै लैजाने हो । पढ्ने त आफ्नै बच्चाले हो । आफ्नो पढाइ राम्रो बनाउन बच्चाले मिहिनेत गर्नैपर्छ । महङ्गो स्कुल होइन, राम्रो नतिजा दिनेखाले रोज्नुपर्छ ।
शिक्षामा व्यापार त तिनीहरूले गरेकै हुन्, जसले फीअनुसार नतिजा दिन सकेका छैनन् । अर्काे कुरो, हेमले एउटा गीत रेकर्ड गर्दैमा पुरै बोर्डिङ स्कुल बन्द हुन्छन् भन्ने पनि होइन । बोर्डिङ स्कुलको विरुद्धमा गाइएको गीतको भिडियो बनाउन पनि बोर्डिङ स्कुलले नै सहयोग गरेको छ । त्यो स्कुल साँच्चैको फराकिलो हृदय भएको स्कुल हो ।
त्यसो त नेपालको सरकारी स्कुलले गुणस्तर दिन नसक्ने धेरै कारण छन् । त्यस्तै सबै बोर्डिङ स्कुलले पनि राम्रो नतिजा दिन सकेका छैनन् । त्यसको पनि आफ्नै कारण छन् । साँच्चै सरकारी स्कुलले नतिजा राम्रो दिन नसक्दा नै चर्काे फी नभनेर बच्चालाई बोर्डिङमा भर्ना गर्नुपर्ने बाध्यता छ ।

सबै कुरा छोडेर कलाकारले कलाकै कुरो गर्ने हो । गीत उत्कृष्ट कविता हो । “बाबा म त पढ्दिनँ बोर्डिङ“ गीत पनि राम्रो छ । सबै कुरो गीतले भन्नुपर्ने सबै कुरो भनेको छ । हेमले आफूले सङ्गीत प्रशिक्षण दिएका छन् । उमेरअनुसार बच्चाको गायकी र स्वर पनि राम्रो छ । भिडियोमा भूमिका निभाउनेले पनि राम्रो गरेको देखिन्छ ।
पहिलेका उनका गीतमा भोकललाई सङ्गीतले च्यापेका हुन्थे अथवा उनका पहिलेका गीतमा सङ्गीत कत्तिको श्रुतिमधुर छ सुनेर आफै विचार गर्न सकिन्छ । यस गीतमा भने श्रुतिमधुर सङ्गीत रहेको छ । यो सङ्गीत संयोजनको एक सफलता हो ।
कतै कतै गायकीमा अस्वाभाविक तान्नुपर्ने ठाउँ रहनु पनि गीत सम्पादनको कमजोरी हो । गीत तयार भएपछि त्यसलाई सङ्गीत दिएर केही साथीलाई सुनाउने र उनीहरूबाट सुझाव लिने गरेको भए गीत अझ राम्रो हुन्थ्यो ।
गीतलाई त्यसको भिडियोले पनि अझ उत्कृष्ट पार्छ । भिडियो निर्माण गर्दाको गीतको थिमभित्र रहेर निर्माण गरिन्छ । तर यस गीतको भिडियो नाटक हेरे झैँ भयो । गीत नै यति राम्रो भएपछि अझ त्यसमा संवाद र अन्य भाषण आवश्यक थिएन । यसमा पाठकले त केही बुझ्दैनन् भन्ने लाग्छ भने भाषण गर्दा हुन्छ तर गीत नबुझ्ने पाठक नेपालमा शायदै कतै नहोला ।
गीत लेख्ने, भिडियो निर्देशन गर्ने, भिडियो सम्पादन गर्ने, सङ्गीत संयोजन र वाद्यवाधन र प्राविधिकमा समेत आफै भएपछि कम्तीमा अधिकारसहितको सम्पादक र सहसम्पादक अरू कसैलाई राख्नुपथ्यो ।
यो सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरू नाच्ने गीत हो । पहिले नै यसबारे पनि सोच्नुपथ्र्यो । त्यहीअनुसार म्युजिक बनेर त्यसैमा भिडियो गरेको भए धेरै राम्रो हुन्थ्यो । नाच्नै म्युजिक भनेर अर्काे छुट्टै म्युजिक खोज्नुपर्दा हुने समस्याले अन्नतः हेमजीलाई नै घाटा हुन्छ ।
कला व्यञ्जना हो । कला अतिरञ्जना हो । कलाको सिर्जना गर्ने क्षमता सबैमा हुँदैन तर कलाको आस्वाद नगर्ने कोही हुँदैन । तर पाठकले आफ्नै हिसाबले धारणा बनाउने स्थान दिनसक्ने कला सिर्जना गर्नु कलाकारको ठुलो सफलता हो । आगामी सिर्जनामा अहिलेका कमजोरी नदोहोरियोस् ।
(लेखक प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य हुन्)