काठमाडौं । काठमाडौं उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने भएको छ ।
खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको पछि सरकारले सहज आपूर्तिको वैकल्पिक व्यवस्था गरेको दाबी गरिरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
काठमाडौं उपत्यकामा उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएको अवस्थामा त्यही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन उनको निर्देशन छ ।
बाढीका कारण सिर्जना भएको आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिन यो नियम ल्याइएको मन्त्रालयको भनाइ छ । यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागु हुनेछ ।
यो व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् ।
