बागलुङबजार । हेमोफिलिया रोगबाट पीडित बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ खुङ्गाका यमबहादुर छन्त्याललाई बागलुङ सेवा समाज हङकङले ३१ हजार एक सय ७० रुपियाँ सहयोग गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष तथा बागलुङ सेवा समाज हङकङका सचिव शक्तमान बुढाथोकीको पहलमा सङ्कलन गरिएको सो सहयोग रकम २०८० पुस ४ गते बुधबार पीडित यमबहादुरलाई हस्तान्तरण गरिएको हो ।
ढोरपाटन नगर कार्यपालिकाका सदस्य कुलबहादुर छन्त्यालले सो सहयोग पीडित यमबहादुरको घरमै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण गर्दै नेता छन्त्यालले बागलुङ सेवा समाजलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा अखिल नेपाल महिला सङ्घ बागलुङकी सदस्य पवित्राकुमारी छन्त्याल, अखिल नेपाल युवक सङ्घ बागलुङका सदस्य इन्द्रमान छन्त्याल, जातीय समता समाज ढोरपाटन–४ का वडाअध्यक्ष लालबहादुर गोतामे, राष्ट्रिय जनमोर्चा ढोरपाटन–४ का वडासदस्य दीपक छन्त्यालसमेतको उपस्थिति रहेको थियो ।
त्यस्तै, पीडित यमबहादुरको उपचारार्थ अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य तथा आयरल्यान्ड नेपाली एकता समाजका संयोजक अमरबहादुर छन्त्यालले दस हजार आठ सय ८२, ढोरपाटन नगरपालिकाले दस हजार र बुर्तिबाङ बजारबासीले चार हजार पाँच सय रुपियाँ सहयोग गरेका थिए ।