काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रपरिषद्को बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो ।
जसमा प्रतिक्वीन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । उनले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताइन् ।
उनले भनिन्, ‘आजको क्याबिनेटको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्यूनतम खरिदमूल्य जुन छ, त्यसलाई उद्योगले रु पाँच सय ६५ प्रतिक्वीन्टल दिनुपर्ने त्यो कायम गर्ने भन्ने निर्णय भयो । उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने र यसरी किसानले उखुको प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ प्राप्त गर्ने गरेर निर्णय भएको छ ।’
प्रवक्ता शर्माले बैठकमा मुख्यसचिव डा। वैकुण्ठ अर्यालले सरकारका कामकारबाही तिब्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रस्तुति राखेको पनि बताइन् ।