रवि पौडेल ##
समाजमा विविधता थियो
समानता ल्याउन राजनीतिमा प्रवेश गरे
पहिले पदमा पुग्न कोसिस गरेँ
जब पदमा पुगेँ
मलाई पद जोगाउनमै समय बित्यो
जनताको सेवा गर्न सकिनँ
चुनाव आयो सांसद पाउन
हेडक्वाटर धाएँ
जब पार्टीले टोकन दियो
चुनाव कसरी जितिन्छ भन्नेमा व्यस्त भएँ
अनि प्रचार प्रसार अभियान आयो
चुनावमा जिताउनुस
भन्दै हिँड्दा समय सकियो
जब सांसद भए
पद जोगाउनमै
समय सिद्धियो
संसद्मा टेबल ठोक्दाटोक्दै
समय सकियो
जनताको सेवा गर्ने समय मिलेन
सांसदपछि मलाई मन्त्री हुनु थियो
मन्त्री हुनका लागि कहाँ के गरिनँ ?
मन्त्री भएँ
मन्त्री भएपछि
मन्त्रालय धाउँदा धाउँदा समय सिद्धियो
जनताको सेवा गर्ने
अवसर मिलेन
अब मलाई एकपटक
प्रधानमन्त्री हुन मन छ
यदि म प्रधानमन्त्री भएँ भने
स्वकीय सचिवहरू
प्रधानमन्त्री कार्यालयमा
आफ्नै छोराछोरी
ज्वाइँ
सम्धिसम्धिनी
भान्जाभान्जी
सालासाली
दिदिबहिनी
दिदिभिनाजु
र राजनीतिमा नजिकबाट
सधैँ साथ दिने
मेरा प्रिय मित्रहरू
मन मिल्ने साथलाई
जागिर ख्वाउने मन छ
यस्तै तरिका मिलाउँदा मिलाउँदै
समय सकिन्छ
जनताको सेवा गर्ने
कुनै दिन समय नै मिलेन ।