काठमाडौं । काठमाडौंको न्युरोडबाट करिब ८ किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
कैलालीको लम्की चुवा नगरपालिका–७ घर भई हाल स्वयम्भु बस्ने ४१ वर्षीय पदम प्रसाद पाण्डे पक्राउ परेका हुन्।
काठमाडौं उपत्यकाको न्यूरोड लगायत विभिन्न ठाउँमा बिल(बिजक बिनाको सुनका गरगहनाहरु बिक्री वितरण गरेको तथा गैरकानुनी रूपमा हुण्डी मार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पाण्डेलाई उनैले सञ्चालन गरेको ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट पक्राउ गरेको हो।
त्यसक्रममा सुनका विभिन्न गरगहना तथा सुनको टुक्राहरू, अमेरीकन डलर र नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सुन तथा सुनका गरगहना ७ केजी १८५.३३५ ग्राम, अमेरिकी डलर ४ हजार एक सय र नेपाली रूपैयाँ ३९ लाख ५० हजार समेत बरामद भएको छ ।
उनलाई गैर कानुनी रुपमा हुन्डी मार्फत वित्तीय कारोबार समेत गर्ने गरेको हुँदा नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
साथै निजले सुनको गरगहनाहरु अवैध रुपमा बिल बिजक बिनाको बिक्री वितरण गर्ने तथा निजको पसलबाट अमेरिकन डलर समेत बरामद भएको हुँदा उक्त सुन र अमेरिकन डलर राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइने प्रहरीले जनाएको छ ।