काठमाडौं । आगामी २०८१ साल वैशाख १० र ११ गते लगानी सम्मेलन हुने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो ।
कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महतले यसपटक सम्मेलनका लागि सम्मेलन मात्रै नभइ लगानी सुनिश्चित गर्ने बताए ।
‘सम्मेलनकै लागि सम्मेलन हुँदैन’ मन्त्री महतले भने, ‘यसको उद्देश्य सक्षम लगानीकर्ता समक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने र लगानी प्रतिबद्धतालाई फलोअप गर्ने र रियलाइजेसन गर्ने हो।’
कार्यक्रममा पर्यटनमन्त्री सुदन किरातीले नेपालमा लगानी भित्र्याउन ऐन कानुन बाधक रहेको धारणा राखे ।
यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवाललगायतले लगानीकर्ता आकर्षित नहुँदा नेपाल आउनुपर्ने लगानी अन्तै मोडिएको धारणा राखे ।
वाणिज्य सचिव नारायण दुवाडीले लगानीकर्तालाई दिने सुविधाबारे सरकारले थप तयारी गर्नुपर्ने बताए। लगानीकर्तालाई विश्वस्त बनाउनुपर्नेमा उनले जोड दिए ।
यस्तै, लगानी बोर्डका पूर्वअध्यक्ष राधेश पन्तले १० वटा समस्या समाधान गर्नुपर्ने धारणा राखे।
यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले विगतका लगानी सम्मेलनका समीक्षा गर्नुपर्ने बताए। आयोगले पनि अध्ययन गरेको उनले जानकारी दिए।