हेम बिजी ##
Advertisement
केही
उल्टा मान्छेहरू
हिँड्न खोज्दै छन् जङ्गली युगतिर
अर्थात्
दासयुगतिर
यो अघि बढिसकेको
गणतन्त्रको युगमा उभिएर
केही
उल्टा मान्छेहरू
हिँड्न खोज्दै छन् सामन्ती युगतिर
अर्थात्
मरिसकेको राजतन्त्र ब्युँताउन
असम्भव यात्रा खोज्दै छन्
सडकमा उफ्रिँदै
उल्टो यात्रा रोज्दै छन् ।
खोई
कसले बुझाइदेला
कसले बताइदेला
ए उल्टा मान्छेहरू हो ¤
तिम्रो यात्रा उल्टो भयो भनेर
किनकि
युगपछाडि फर्किदैन
समय पछाडि चल्दैन
र व्यवस्था पछाडि जाँदैन ।
आजकाल
केही उल्टा मान्छेहरू
हिँड्न खोज्दै छन् उल्टो यात्रा
अर्थात्
जनता दास बनाउन
निरङ्कुश अवतार निकाल्न
फेरि
लोकतन्त्र निल्न
र गणतन्त्र मिल्क्याउन
आजकाल
केही उल्टा मान्छेहरू
खोज्दै छन् उल्टो यात्रा
त्यसैले
खबरदार
ए उल्टा मान्छेहरू
हामी गणतन्त्र निल्न दिँदैनौँ
उल्टो यात्रा हिँड्न दिँदैनौ ।