काठमाडौँ । तिहारको दियो बाल्दा, पटाका पड्काउँदा आगलागी हुँदा करोडौँ रुपियाँबराबरको धनमालको क्षति भएको छ ।
भोजपुर, सङ्खुवासभा, सुनसरी र खोटामा यस्तो क्षति भएको हो ।
भोजपुरमा छब्बिस लाख बढीको क्षति
लक्ष्मीपूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिनुभयो ।
आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना र नगद रु १५ हजारसमेत नष्ट भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ ।
सङ्खुवासभामा घर डढ्यो
सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गत राति लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लीीला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । आगलागीबाट राईको घर पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन ।
आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।
आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । आगलागीबाट नगद रु ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो) मा पनि आगोले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

सुनसरीमा ५० लाख बढीको क्षति
गत राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिनुभयो ।
लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घरपछाडि रहेको रुखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।
इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
खोटाङमा २५ लाख बढीको क्षति
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।
घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उहाँको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सात जनाको कटवाल परिवार विचल्लीमा परेका छन् ।